Section 65
बालबालिकाको अधिकार प्रचलन गराउने
(१) दफा ६४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले परिच्छेद–२ बमोजिमको बालबालिकाको अधिकार उल्लङ्घन गरेमा वा परिच्छेद–३ बमोजिमको बालबालिकाप्रतिको दायित्व पूरा नगरेमा सो अधिकारको प्रचलन वा दायित्व पूरा गराउनको लागि सम्बन्धित बालबालिका वा सरोकारवालाले सम्बन्धित उच्च अदालतमा सोझै निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा उच्च अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी बालबालिकाको अधिकारको प्रचलन गराउन वा बालबालिकाप्रतिको दायित्व पूरा गराउन सम्बन्धित व्यक्ति, संस्था वा निकायका नाउँमा उपयुक्त आदेश जारी गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा संरक्षक वा परिवारका कुनै सदस्यले बालबालिकाको अधिकारको उल्लङ्घन वा बालबालिकाप्रतिको दायित्व पूरा गरेको नदेखिएमा उच्च अदालतले त्यस्तो संरक्षक वा परिवारका सदस्यलाई बालबालिकाको अधिकारको विषयमा आवश्यक जानकारी गराई पुन बालबालिकाको अधिकारको उल्लङ्घन नहुने वा निजप्रतिको दायित्व पूरा गर्ने प्रतिबद्धता प्रकट गर्न लगाउनु पर्नेछ।
(४) उपदफा (२) बमोजिम आदेश जारी गर्दा उच्च अदालतले बालबालिकाको अधिकार उल्लङ्घन गर्ने वा बालबालिकाप्रतिको दायित्व पूरा नगर्ने व्यक्ति, संस्था वा निकायका प्रमुखलाई सचेत गराउन वा यस ऐन बमोजिम सजाय गर्न र निजबाट क्षतिपूर्ति भराउने आदेश गर्न सक्नेछ।